सङ्घीयताबिना जनताको अधिकार सुनिश्चित नहुने : कर्णाली प्रदेश प्रमुख

कर्णाली – कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले सङ्घीयताबिना जनताका अधिकार सुनिश्चित नहुने बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेतमा आयोजित समारोहमा उनले जनताको बलिदानबाट संविधान र सङ्घीयता प्राप्त भएको बताए ।

प्रदेश प्रमुख जोशीले भने, “कर्णाली अधिक साधन स्रोतले भरिपूर्ण प्रदेश हो । यसको भरपूर उपयोग हुन जरुरी छ । भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीको विकासमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।” कृषि, प्राकृतिक,सांस्कृतिक र साहसिक पर्यटनका माध्यमबाट कर्णालीलाई समृद्ध तुल्याउन सकिने बताए ।

मुख्यमन्त्री यामलाल कँडेलले जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको बलिदानीपूर्ण योगदानको स्मरण गर्दै उनीहरूका परिवारका एक–एकजना सदस्यलाई रोजागरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिए ।

सीमाङ्कनको विषयलाई लिएर २०७२ साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जुम्लाका कुँवर, बिसी, गौतम र रजवारको निधन भएको थियो ।

सहिद तथा प्रदेश स्थापना दिवसका अवसरमा मुख्यमन्त्री कँडेलसहित मन्त्रीहरुले प्रादेशिक सहिद पार्कमा सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । कर्णालीलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका जाजरकोटका पत्रकारद्वय राजेन्द्र कार्की र यज्ञबहादुर खत्री र कालीकोटका तुलराम पाण्डेलाई जनही रु ५० हजार प्रदान गरिएको छ ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा डा डम्बर खड्कालाई सर्वोत्कृष्ट र अन्य दश कर्मचारीलाई उत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments