काभ्रेका धार्मिक स्थलमा विशेष मेला

काभ्रे – साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमा र रक्षाबन्धनका अवसरमा आज काभ्रेपलाञ्चोकका विभिन्न धार्मिक स्थलहरुमा विशेष मेला लागेको छ ।

जिल्लाको बनेपा नगरपालिका–६ स्थित गोसाइँस्थान, तेमाल गाउँपालिका–५ को नारायणस्थान, रोशी गाउँपालिका–३ स्थित ताराखसे लेक र मण्डनदेउपुर नगरपालिकाको रत्नचुडेश्वर महादेव पोखरीलगायत धार्मिक स्थलहरुमा विशेष मेला लागेको छ ।

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा गएर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास रहँदै आएका कारण दर्शनार्थी यहाँ आएर पूजा गर्ने गरेको बनेपा–६ का स्थानीय समाजसेवी तथा पूर्ववडाध्यक्ष भैरव केसीले बताए ।

गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष विष्णुनारायण श्रेष्ठका अनुसार रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग कथा र महत्व जोडिएका कारण त्यहाँ पुग्न नसकेका भक्तजन यहाँ रहेको गोसाइँस्थानमा मेला भर्ने गरेका छन् ।

रोशी गाउँपालिका–३ स्थित ताराखसे लेकमा रहेको ताराकुण्डमा पनि यही पूर्णिमाको दिन विशेष मेला लाग्दैआएको छ । परापूर्व कालमा गुरु रेन्पोछे (गुरु पद्म सम्भाव) ले खोटाङको हलेसीबाट ध्यान गरी यात्राको क्रममा काभ्रेपलाञ्चोकको तेमालस्थित यारीनाग गुफा, ताराखसेस्थित हात्ती आहाल, ताराकुण्ड र नगरकोटाको महादेव पोखरी हुँदै गोसाइँकुण्ड पुगेको कथन रहेको रोशी–३ का स्थानीय बासिन्दा सुरज लामाले बताए ।

त्यसरी गुरु रेन्पोछेले पाइला टेकेको पवित्र ठाउँ भएको कारण महाभारत लेकको टुप्पोमा रहेको कुण्डमा बाह्रै महिना पानीको पोखरी रहिरहेको उनले बताए । त्यहाँ पूर्णिमाका दिन विभिन्न ठाउँका झाँक्री सो कुण्डमा पुगेर ध्यान गर्ने, पूजा गर्ने र नाच प्रदर्शन गरी वर माग्ने गरेका छन् । केही कारणले सातो गएको मानिसको सो दिन उक्त कुण्डमा पुगेर सातो बोलाएपछि सधैँका लागि निको हुन्छ भन्ने जनविश्वाससमेत रहँदै आएका कारण उक्त कुण्डमा पुग्नेहरुको भीड लाग्ने गरेको उनले बताए ।

त्यसरी जनविश्वास रहँदै आएको सो कुण्डमा धार्मिक तथा पर्यापर्यटनको विकास गर्न सङ्घीय सरकारको रु एक करोड अनुदानमा आर्थिक वर्ष २०८०÷८१ मा कुण्ड वरिपरि सिँढी र रेलिङ निर्माण, वनभोजस्थल निर्माण, खानेपानी, नुहाउने ठाउँ, शौचालयलगायत पूर्वाधार निर्माण गरेको रोशी–३ का वडाध्यक्ष धनजित लामाले बताए ।

त्यस्तै, धार्मिकस्थलमध्येको तेमाल गाउँपालिका–५ नारायणस्थानमा रहेको सत्यनारायण मन्दिरमा पनि आजको दिन विशेष मेला लाग्ने गरेको छ । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन विशेष धार्मिक जात्रा हुने गरेको र नारायणस्थान मन्दिरमा लाग्ने धार्मिक जात्रा (मेला) तेमालको सांस्कृतिक पर्वकै रुपमा विकसित भएका कारण पालिकाभरिमा सार्वजनिक बिदा दिएको पालिकाले जनाएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले बिहीवार सार्वजनिक सूचना जारी गरी तेमाललगायत आसपासका गाउँपालिका तथा नगरपालिका र अन्य छिमेकी जिल्लाबाट समेत दर्शनार्थी भक्तजन उपस्थित भई अनुष्ठान गर्ने भएकाले जात्रा ९मेला०लाई सभ्य र भव्य रुपमा मनाउन यही भदौ २ देखि ४ गतेसम्म पालिकाभरि सार्वजनिक बिदा दिएको जानकारी दिए ।

त्यस्तै, आजकै दिन नगरकोटको ऐतिहासिक धार्मिकस्थल रत्नचुडेस्वर महादेव पोखरी मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । तामाङ समुदायले जनैपूर्णिमालाई गोनेङ्ह्या पर्वका रुपमा मनाउँदै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments