डब्लुएचओद्वारा एमपक्स खोपको उत्पादन बढाउन आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार एमपक्स भाइरसको थप खतरनाक भेरियन्टको फैलावटलाई नियन्त्रण गर्न खोपको उत्पादन बढाउन उत्पादकहरुलाई आग्रह गरेको छ ।

डब्लुएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट सुरु भएर अन्य देशमा फैलिएपछि एमपक्सलाई बुधबार दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

“एमपक्सको प्रकोपलाई नियन्त्रण गर्न हामीलाई साच्चै नै खोपको उत्पादन बढाउन आवश्यक छ”, डब्ल्यूएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले पत्रकारहरूलाई भने ।

डब्लुएचओले एमपक्स खोपको भण्डार भएका देशलाई हाल प्रकोप फैलिएको देशलाई वितरण गर्न आग्रह गरिरहेको छ ।

हालैका वर्षहरूमा डेनमार्कको औषधी उत्पादक बवेरियन नर्डिकद्वारा उत्पादित एमभीए–बीएन र जापानको एलसी१६ गरी दुई प्रकारका एमपक्स विरुद्धको खोप प्रयोग भइरहेको छ ।

ह्यारिसले ५ लाख एमभीए–बीएन खोप हाल भण्डारमा रहेको र आवश्यकता अनुसार २४ लाख खोप तत्काल उत्पादन गर्न सकिने बताएका छन् । सन् २०२५ का लागि खरिद अनुरोधमा थप १ करोड खोप उत्पादन गर्न सकिने उनले बताए ।

“एलसी१६ खोपको भने व्यावसायीकरण गरिएको छैन । यो जापान सरकारको तर्फबाट उत्पादन गरिएको हो । यस खोपको पर्याप्त भण्डार छ”, ह्यारिसले भने ।

डब्ल्यूएचओले एलसी१६ खोपको वितरणका लागि टोकियोसँग सहकार्य गरिरहेको बताएको छ ।

‘द डक्टर्स विदाउट बोर्डर्स च्यारिटी’नामक संस्थाले खोपको भण्डार भएका तर भाइरसको कुनै प्रकोप नभएका देशहरूले अफ्रिकाका प्रभावित देशलाई सकेसम्म धेरै खोप वितरण गर्न आग्रह गरेको छ ।

यसले बवेरियन नर्डिकलाई एमपक्स सङ्क्रमण फैलिएको अधिकांश देशका लागि एमभीए–बीएन खोप पहुँच बाहिर रहेको भन्दै मूल्य घटाउन समेत आग्रह गरेको छ ।

विश्वको सबैभन्दा ठुलो मानवीय सञ्जाल ’इन्टरनेसनल फेडेरेसन अफ रेड क्रस एन्ड रेड क्रिसेन्ट सोसाइटी’९ आइएफआरसी० ले एमपक्स सङ्क्रामक देशहरुले भाइरससँग जुध्न चुनौती सामना गरिरहेको बताएको छ ।

आइएफआरसीका वरिष्ठ जनस्वास्थ्य आपतकालीन अधिकारी ब्रोन्विन निकोलले अधिकांश खोप धनी देशसँग रहेको र अहिलेसम्म अफ्रिकामा पठाइएका खोपहरू प्रकोप नियन्त्रणका लागि पर्याप्त नभएको बताए ।

“महाद्वीपभरी परीक्षण, उपचार र खोपको गम्भीर अभाव छ । यी अभावहरूले प्रकोप नियन्त्रणमा बाधा पुर्याइरहेका छन् ”, उनले भने ।

डब्लुएचओले सन् २०२२ मा पनि ७० भन्दा बढी देशमा फैलिएपछि मङ्कीपक्स भनेर चिनिने एमपक्सलाई विश्वव्यापी आपत्काल घोषणा गरेको थियो ।

यस वर्ष १० अफ्रिकी राष्ट्रमा एमपक्स पत्ता लागेको रोग नियन्त्रण र रोकथामका लागि डब्लुएचओका अफ्रिकी केन्द्रहरूले गत हप्ता बताएका छन् ।

“एमपक्सको सङ्क्रमण अफ्रिकाभित्र र त्योभन्दा बाहिर फैलन सक्ने सम्भावना रहेकाले यो चिन्ताजनक अवस्था हो”, डब्लिएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयसस भने ।

प्रकोपलाई नियन्त्रण गर्न एक समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेकोमा उनले जोड दिएका छन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments