तनहुँ – जिल्लाको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई रु १३ लाख ८० हजार अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप उक्त रकम उपलब्ध गराइएको हो ।
उक्त कार्यक्रमबाट तीन सय ४५ हलगोरु पाल्ने किसान लाभान्वित भएका गाउँपालिकाको पशु सेवा उपशाखाका प्रमुख डा विनयकुमार शाहले जानकारी दिए । उनका अनुसार प्रतिहलगोरु रु चार हजार अनुदान दिने गाउँपालिकाको नीतिअनुसार तीन सय ४५ किसानलाई उक्त रकम उपलब्ध गराइएको छ ।
यस कार्यक्रमका लागि सुरुमा रु १० लाख विनियोजन गरिएकामा रकम अपुग भएपछि बाँकी रकम रकमान्तर गरिएको शाहले बताए ।
गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिएको उनको भनाइ छ ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइएको भन्दै उक्त रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई सुझाव दिए । आव २०७९/८० मा दुई सय ५० किसानलाई अनुदान उपलब्ध गराइएको थियो । प्रोत्साहन रकम पाएपछि हलगोरु संरक्षणमा सहयोग पुग्ने भन्दै किसान खुसी भएका छन् ।
गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई रकम उपलब्ध गराउने नीति तथा कार्यक्रममार्फत निर्णय गरेको थियो । सोही अनुसार सबै किसानलाई बैङ्किङ प्रणालीमार्फत रकम उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । रासस
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित