काठमाडौं – लागूऔषध सहित विभिन्न स्थानबाट १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको टोखा नगरपालिका-९ कुलान्त मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १२ मिलिग्राम सहित तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने गोरखा भिमसेनथापा गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष बयलकोटीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१ बसन्त टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय गोपाल कम्ती, धनगढी उपमहानगरपालिका-१ बस्ने २७ वर्षीय सिद्ध साउद र सोही उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय सुरेश साउद रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ ग्राम ९ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय आरिफ खाँन र सोही उपमहानगरपालिका-११ सोनारमण्डी बस्ने १९ वर्षीय समिर अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-१० बस्ने २७ वर्षीय अशोक लिम्बु र ३२ वर्षीय सुरज लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय २० मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका-१० बस्ने २८ वर्षीय महमद अजिम र २९ वर्षीय राजिव साह रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतको पानीटंकीबाट नेपालतर्फ आउँदै गरेको मे।१० प १३३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-३ बेलडाँगी शिविरस्थित सेक्टर नम्बर सि २ हट नम्बर ९९ बस्ने २३ वर्षीया प्रमिला गुरूङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ८० मिलिग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
अछाम, मंगलसेन नगरपालिका(६ ठुलासैनबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने डोटी दिपायल सिलगढी नगरपालिका-५ घर भएका २३ वर्षीय अरूण जंग टेलरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ठुलासेनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी अछाम, कमलबजार नगरपालिका-६ गैरीटाँड बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमलबजार नगरपालिका-५ कुईका घर भएका ६७ वर्षीय गोरे चलाउने र सोही नगरपालिका-६ बिरपथ घर भएका ५९ वर्षीय कलम शाही रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछाम र अस्थायी प्रहरी पोष्ट गैरीटाँडबाट खटिएको प्रहरीले सोही ठाउँस्थित नेत्र कोल्ड स्टोर संचालन गर्ने गोरेलाई १ सय ३२ ग्राम र तरकारी तथा खुद्रा पसल संचालन गर्ने कलमलाई १ सय १४ ग्राम चरेश जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २२ किलो ५ सय ग्राम सहित भारत पटना मारसलामी-०८ नवाबगाउँ बस्ने २० वर्षीय आदित्य कुमार गुप्तालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बिआर ०१ बिजे ८४८३ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको विभिन्न भागहरूमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक गुप्तालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित