गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

गर्मीमा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ । छालाको धेरैलाई गर्मी मौसममा छालामा बढी चिल्लोपनाको समस्या हुन्छ । गर्मीमा छालाको राम्रोसँग हेरचाह गर्न सकिएन भने चिल्लो छाला अझै चिल्लो र ड्राइ छाला झन् फुस्रो हुने समस्या हुन सक्छ ।

गर्मीमा छालाको स्याहारमा प्रशस्त पानी पिउनु नै सबैभन्दा उपयोगी हुन्छ । यसका साथै सन प्रोटेक्सन क्रिम पनि गर्मीमा छाला स्याहारको प्रमुख औषधी हो । त्यसकारण हरेक दिन ४ पटक प्रयोग गर्नुपर्छ । किनभने त्यो क्रिमले ३ घण्टाभन्दा बढि काम गर्दैन । बजारमा विभिन्न प्रकारको सन प्रोटेक्सन क्रिम उपलब्ध हुन्छन् ।

तर गुणस्तरीय उत्पादन मात्र प्रयोग गर्नुपर्छ । क्रिम प्रयोग गर्नुभन्दा पहिले आफ्नो छालाको प्रकृति हरेर मात्र प्रयोग गर्नुपर्छ । कामकाजी महिलाहरुले भने विशेष ध्यान दिनुपर्छ । दिनभरी धुवाँ धुलोमा निस्किनु पर्ने हुदाँ हरेक दिन सुत्नु अघि सफा पानीले मुख धोएर नाइट क्रिम र बडी लोसन लगाउनुपर्छ ।

छालाको स्याहार गर्दा गुण, अवस्था र प्रकार अनुसार गर्नुपर्ने हुन्छ । मानव शरिरको विशेष गरेर ओइली, ड्राई र नर्मल गरेर तीन प्रकारका छाला हुन्छन् । मौसम अनुसार छालाको गुण हेरेर स्याहार गर्नुपर्छ ।

ड्राइ छालाको हेरचाह

गर्मीमा शरीरमा पानीको कमी हुन सक्छ । यसले गर्दा विभिन्न समस्या देखिन सक्छ । जसको लागि भिटामिन डी भएका क्रिम र फेसवास प्रयोग गर्नु फलदायी हुन्छ । हाम्रै भान्सामा भएका सामाग्रीको प्रयोग गरेर छालाको स्याहार गर्न सकिन्छ । ड्राइ छाला भएकाले कागती, टमाटर र घ्युकुमारीको पेस्ट बनाएर लगाएमा अनुहारमा चमक आउँछ । गर्मीमा ड्राइ स्किनलाई चिल्लो बनाइराख्नु आवश्यक हुन्छ । अन्डाको सेतो भाग, कागतीको झोल, चन्दन, दही, बेसनको पिठो र बेसारको प्रयोग गरेर आवश्यक पेस्ट बनाएर लगाउनु राम्रो मानिन्छ । तर प्रशस्त पानी पिउनु नै छालाको स्याहारको प्रमुख औषधी हो ।

चिल्लो छालाको हेरचाह

गर्मीमा चिल्लो छाला भएकाहरुले विशेष हेरचाह गर्नुपर्ने हुन्छ । चिल्लो छाला भएकाहरूलाईगर्मीमा पिम्पलको समस्या देखिन सक्छ । चिल्लोपन हटाउनको लागि छालाको लागि मोइस्चराइजर नै औषधी हो । यसका साथै घरमै भएका सामाग्री जस्तै कागती, टमाटर, एलोबेरा, दहीको पेस्ट बनाएर लगाउन पनि सकिन्छ । त्यस्तै कागती र दही मिक्स प्याक बनाएर हप्तामा एक पटक अनुहारमा लगाउन सकिन्छ । जसले अनुहारको प्राकृतिक चिल्लोपना कम गर्छ ।

नर्मल छालाको हेरचाह

नर्मल छाला हुनेहरुले विशेष गरेर अनुहारको चमकमा विशेष ध्यान दिनुपर्छ । समय समयमा मोस्चराइजर प्रयोग गर्नुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । साबुन पानीले मुख धुनु राम्रो मानिदैन । यसले छालालाई फुस्रो बनाउँछ । तर दैनिक दुई पटक सफा पानीले भने मुख धुनुपर्छ ।

तातोपानीको बाफ लिनु राम्रो मानिन्छ । यसले छालाभित्र रहेका फोहोरलाई बाहिर निकाल्छ । स्वच्छ हावा भित्र पु¥याउने काम गर्छ । गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउन, मौसम अनुसारको फलफूल खानु, दैनिक सनब्लक क्रिम प्रयोग गर्न, हप्तामा एक÷दुई पटक फेस प्याक लगाउनु नै राम्रो हुन्छ ।

कहीँ कतै बाहिर निस्कनु अघि मात्र अनुहारमा क्रिम लगाउने र शृंगार गर्ने हाम्रो अभ्यास छ । धुवाँ धुलोबाट बच्न लोसन, मोस्चराइजर लगाउने गर्छौं । घरमा र अफिसमा बस्दा हामीले अनुहार र छालाको स्याहार गर्दैनौँ । तर, घर र अफिसमा हुँदा पनि हामीले छालाको विशेष स्याहार गर्नुपर्छ । भान्सामा खाना पकाइरहँदा भान्साको तापक्रम बढी हुन्छ । हाम्रो छाला कोमल हुने भएकाले त्यसको तापक्रम र खारले हाम्रो छालालाई असर गर्छ ।

हाम्रो ध्यान जान नसकेको अर्को कुरा, घरमा अथवा अफिसको काममा हामी लामो समय सम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ । यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ । त्यसकारण यी उपकरण प्रयोग गर्नु १५ मिनेट अगाडि नै हामीले शरीरमा बडी लोसन र सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments