भारत र चीनमा गत साता मुसलधारे वर्षाबाट दुई सय ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । त्यस्तै पाकिस्तानमा अन्य तीन जनाको मृत्यु भएको छ।
उत्तर कोरियामा चीनको सीमा नजिकै ठूलो बाढी आएको समाचार छ तर बाढीबाट कसैको ज्यान गएको छ वा छैन भन्ने कुनै जानकारी प्राप्त भएको छैन।
वर्षको यो समय एसियामा मनसुन र आँधीको मौसम हो र जलवायु परिवर्तनले यस्ता आँधीहरूलाई तीव्र बनाएको छ। मुसलधारे वर्षाका कारण पहिरो र बाढीबाट बाली नष्ट भएको, घरहरू क्षतिग्रस्त भएको र मानिसहरूको ज्यान गएको छ।
चीनको मौसम विज्ञान प्रशासनले गत महिना जारी गरेको प्रतिवेदनअनुसार चीनमा अत्यधिक गर्मी दिन र लगातार तीव्र वर्षा भइरहेको ऐतिहासिक तथ्यांकले देखाउँछ। मौसम विज्ञान प्रशानसनले दुवै अवस्था आगामी ३० वर्षमा अझ बढ्ने पूर्वानुमान गरेको छ।
चीनले वर्षा हुने प्रान्तहरूमा आपतकालीन सञ्चारका लागि ड्रोन तैनाथ गरेको छ।
भारत : २०१ को मृत्यु, करिब २०० बेपत्ता
मंगलबार बिहान भारी वर्षाले दक्षिणी भारतको केरल राज्यमा चिया बगान र गाउँहरूमा आएको बाढीले पुल र घरहरू क्षतिग्रस्त भएका छन्।
चौंथो दिनको खोजीमा जीवित मानिस भेटिने अपेक्षा कम भएको छ। मुख्य पहिरोबाट ३० किलोमिटर तल नदीमा शवहरू फेला परेका छन्।
भारतमा मनसुनको मौसममा नियमितरूपमा बाढी आउँछ। बालीनालीका लागि महत्त्वपूर्ण मनसुनी वर्षा जुन र सेप्टेम्बरको बीचमा हुने गर्दछ।
चीन : ४८ को मृत्यु, ३५ बेपत्ता
गत साता पश्चिमी प्रशान्त क्षेत्र हुँदै आएको गेमी नामक आँधीबाट फिलिपिन्समा ३० भन्दा धेरै र ताइवानमा १० जनको मृत्यु भएको थियो। यद्यपि चीनमा उष्णकटिबन्धीय आँधी कमजोर भएपछि यो घातक भएको थियो।
धेरै दिनसम्म चीनको हुनान प्रान्तका केही भागमा वर्षा भएको छ। आइतबार बिहान एक होमस्टेमा पहिरो जाँदा १५ जनाको मृत्यु भयो। हुनानका अन्य स्थानमा सोमबार तीन शव फेला परेका छन् । उनीहरू पनि पहिरोको शिकार भएको विश्वास गरिएको छ।
नजिकैको जिक्सिङ सहरका अधिकारीहरूले बिहीबार बाढीबाट ३० जनाको मृत्यु र ३५ जना बेपत्ता भएको घोषणा गरेका छन्।
जलस्रोत मन्त्रालयले चीनमा यो वर्ष २५ वटा ठूला बाढी रेकर्ड गरेको छ। यो आँकडा सन् १९९८ मा तथ्यांक राख्न सुरु गरेयताको सबैभन्दा बढी हो।
उत्तर कोरिया : क्षति तर मृत्युको जानकारी छैन
उष्णकटिबन्धीय आँधीका कारण उत्तर कोरियाको सीमामा रहेको उत्तरपूर्वी चीनमा भारी वर्षा हुँदा दुवै मुलुकलाई विभाजन गर्ने यालु नदीमा बाढी आयो।
उत्तर कोरियामा वर्षाले चार हजार एक सय घर, तीन हजार हेक्टर खेत र धेरै सार्वजनिक भवन, सडक र रेल्वे डुबानमा परेका छन्।
यहाँको सरकारी सञ्चारमाध्यमले मृत्युको बारेमा जानकारी दिएको छैन तर नेता किम जोङ उनले हताहतीको संकेत गरेका छन्। उनले ‘हताहतीलाई अनुमति दिन सकिँदैन’ भन्दै सार्वजनिक अधिकारीहरूमाथि विपद् रोकथाममा बेवास्ता गरेको आरोप लगाएका छन्।
पाकिस्तान : तीनको मृत्यु
पाकिस्तानमा बिहीबार लाहोर सहरमा रेकर्ड वर्षाले सडकहरू जलमग्न भएका छन् र कम्तीमा तीन जनाको मृत्यु भएको छ। लाहोरको केही भागमा केही घन्टाभित्रै तीन सय ५३ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ। यसले ४४ वर्ष पुरानो कीर्तिमान तोडेको छ। एजेन्सी
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित