शैक्षिक परामर्शदाता कम्पनीहरु म्यानपावर एजेन्सी होइनन् भन्ने तथ्य यस क्षेत्रमा लागेका व्यवासायीहरुले प्रमाणित गर्नु पर्ने चुनौती थपिएको छ’
काभ्रेपलाञ्चोक/विद्यालय शिक्षा सक्किने वित्तिकै विद्यार्थी र तीनका अभिभावकहरुलाई हुने दुविधा भनेकै अबको उच्च शिक्षाका लागि के गर्ने, कहाँ पढ्ने, पढाउने इत्यादि । यो बेलामा सही निर्णयका लागि परामर्श जरुरी हुन्छ तर उचित परामर्श नहुँदा विद्यार्थीको भविष्य बिग्रेकोमात्रै नभई अभिभावकहरुको ठुलो धनराशी खेर जाने हुन्छ ।
यही अवस्थाको अन्त्यका लागि नेपालमा शैक्षिक परामर्श कम्पनीहरु खुलेका हुन् । पछिल्लो समय तोकिएको मापदण्ड नपुगेका र तोकिएको तालिम नलिएका व्यक्तिहरुले समेत विभिन्न नाममा शैक्षिक परामर्श प्रदान गर्न थालेपछि यस कार्य पनि आलोचित बन्न थालेको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काभ्रेपलाञ्चोकको दोस्रो साधारणसभाको अवसरमा बिहीबार हिमालय दृश्य रिसोर्ट धुलिखेलमा आयोजित कार्यक्रममा शैक्षिक परामर्श प्रदान गर्दै आएका काभ्रेपलाञ्चोकका परामर्शदाताहरुले माथिझैं चिन्ता व्यक्त गरेका हुन् ।
संघका प्रमुख सल्लाहकार एवं भिसा डाइरेक्ट एण्ड एस एजुकेशन कन्सल्टेन्सी बनेपाका प्रबन्ध निर्देशक पवन कुमार थापाले शिक्षामा नवप्रवर्तन ल्याउने र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अध्ययनका अवसरमा सहज पहुँच दिलाउनका लागि जिल्लास्तरमै गुणस्तरीय सेवा पुर्याउँदै आइएको बताए ।
‘केही व्यवसायीहरुको लापरवाहीले समग्र शैक्षिक परामर्शदाताहरुको पहिचानमै धक्का लागेको छ । शैक्षिक परामर्शदाता कम्पनीहरु म्यानपावर एजेन्सी होइनन् भन्ने तथ्य यस क्षेत्रमा लागेका व्यवासायीहरुले प्रमाणित गर्नु पर्ने चुनौती थपिएको छ’, थापाले भने ।
संघका अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले गरेका थिए । सो अवसरमा मन्त्री बादेले दर्ता नभई संचालन भएका र राज्यले नियमन गर्न नसकेको शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाउन आफू र मन्त्रालयको सक्रियता रहने वचनवद्धता व्यक्त गरे ।
मन्त्री बादेले शैक्षिक परामर्श दाताहरुलाई व्यवस्थित गर्न दर्ता, नविकरण तथा नियमनलाई प्राथमिकता दिनेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले काभ्रेपलाञ्चोकमा रहेको अधिकांश शैक्षिक परामर्श कम्पनीहरु अन्य प्रयोजनमा दर्ता भएका र मापदण्डविपरित सञ्चान भएका सरकारी अनुगमनका क्रममा भेटिएकाले कानुनअनुसार सञ्चालन गर्नका लागि सुझाव दिए ।
नेपाल शैक्षिक परामर्श संघ(इक्यान) का केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले अन्य मुलुकमा उच्च शिक्षाको अवसरका लागि जान चाहने विद्यार्थीहरुका लागि संघमा आवद्ध कम्पनी र शैक्षिक परामर्शदाताहरुले सहजीकरण गरिरहेको जानकारी दिए ।
इक्यानका केन्द्रीय सचिव भवनाथ हुमागाईले संघमा आवद्ध परामर्शदाता सदस्य कम्पनीहरुले विभिन्न सेवाहरू जस्तै: छात्रबृत्ति सहायता, करियर परामर्श, आवश्यक कागजात तयारी, परिक्षण तयारी, प्रस्थानपूर्व ब्रिफिङ, भिसा मार्गदर्शन तथा आवेदनमा सहयोग लगायतका कार्यहरू गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा (इक्यान) केन्द्रिय उपाध्यक्ष लक्ष्मण पौड्याल, महासचिव दिपकराज भुषाल तथा विभिन्न जिल्लाका (इक्यान) अध्यक्षहरुले शैक्षिक परामर्श संघले खेलिरहेको भूमिका र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
इक्यान काभ्रे २०८१ वैशाख १९ गतेको भेलाले गठन भए पनि असोज ९ गतेमात्रै इक्यान शाखाको रुपमा गठन भएको हो । शाखाले पहिलो इक्यान काभ्रे एजुकेशन फेयर सञ्चालन गरेको छ । ‘अब हामी काभ्रेलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपामा स्थापित गर्ने अभियानमा छौं’’ अध्यक्ष रायमाझीले योजना सुनाए ।

साधारण सभामा इक्यान काभ्रेका सचिव बालकृष्ण न्यौपानेले सचिवको प्रतिवेदन र वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । यस्तै, कोषाध्यक्ष अशोक तिमिल्सनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभाले शैक्षिक परामर्श क्षेत्रको गुणस्तर वृद्धि, सदस्यहरूको क्षमता अभिवृद्धि र विद्यार्थीहरूको हितमा थप प्रभावकारी ढङ्गले काम गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित