२०२४ को वातावरण पत्रकारिता पुरस्कार पत्रकार विशाल बस्नेतलाई

काठमाडौँ / नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत चार दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार–२०२४’ पत्रकार विशाल बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सौर्य राष्ट्रिय दैनिकमा वातावरणका विषयका खोजमूलक समाचार लेखन गरेवापत बस्नेतलाई नगद तथा प्रमाण–पत्र प्रदान गरिनेछ ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरूको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यममा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरू मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले देशैभरिका पत्रकारहरूलाई सन् २०२४ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहले प्रकाशित गरेको सूचना अनुसार नेवापसमा ४९ (उनन्चास) जना पत्रकारहरूले आवेदन दिनुभएको थियो ।

समूहका पूर्व अध्यक्ष तीर्थ कोइरालाको संयोजकत्वमा समूहका पूर्व महासचिव निमेष रेग्मी र विज्ञसदस्य डा. बिनोद भट्ट सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा बस्नेतलाई पुरस्कार दिने निर्णय गरिएको हो ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२४’ पाउने उहाँ ३८ औँ पत्रकार हुनुहुन्छ । यो पुरस्कार समूहको आगामी साधारणसभाका दिनमा हस्तान्तरण गरिने छ ।

यसैगरी, २०२४ का लागि प्रशंसनीय र उत्कृष्ठ रिपोर्टिङ देखिएकाले १० जना पत्रकारहरूलाई ‘उत्कृष्ठ रिपोर्टिङ–२०२४’ प्रशंसा पत्र प्रदान गर्ने घोषणा गरिएको छ । यीनमा वसन्त ढुङ्गाना, ओम शाही, बालिका मादेन, वीरेन्द्र रमण, केशरराज क्षेत्री, युवराज कणेँल, विकास आचार्य, अर्चना दर्जी (परियार), दुर्गा रानामगर र सागर परियार रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments