समस्या समाधान गर्न २० वर्षदेखि सम्बन्धित मन्त्रालय विभाग हरेक ठाउँमा पुगेर थालेको प्रयास सफल हुन सकेपछि आन्दोलनलाई लहान नगरपालिकाले उचित ठानेर समर्थन गरेको
सिरहा / गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै लहानका स्थानीयले दुई दिनदेखि मालपोत कार्यालय अगाडि धर्ना दिएका छन् । संघर्ष समिति गठन गरेर उनीहरूले धर्ना दिएपछि कार्यालयको कामकाज प्रभावित बनेको हो ।
संघर्ष समितिका संयोजक अरुण केसीले नाप नक्सा भएर जग्गा रोक्का रहँदा सास्ती खेप्नुपरेको बताए । उनले जायज माग पूरा नभएसम्म धर्नालाई निरन्तरअघि बढाउने बताए । “लहान नगरपालिकाको सयौँ घर परिवारको गाउँ ब्लकको जग्गा नाप नक्सा भएर पनि फुकुवा भएको छैन”, उनले भने, “पटक-पटक सम्बन्धित निकायमा धाउँदा समस्या समाधान भएन । बाध्य भएर धर्नामा बस्नुपर्ने अवस्था हो ।”
संयोजक केसीका अनुसार गाउँ ब्लकमा रहेको जग्गा विसं २०७५ देखि फुकुवा नहुँदा बैंक तथा वित्तीय संस्थाबाट कारोबार र खरिद बिक्रीसमेत ठप्प भएको छ ।
यसअघि संघर्ष समितिले माघ १४ गते लहान नगरपालिका, इलाका प्रशासन कार्यालय, लहान र नापी कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । हाल नगरपालिकाका जनप्रतिनिधिसमेत धर्नामा बसेका छन् ।
लहान नगरपालिकाका १५ हजार घरपरिवारको यो समस्या भएकाले धर्ना कार्यक्रममा उपस्थिति भएर लहान नगरपालिकाबाट समर्थन गरेको नगर उपप्रमुख राम चलितर महतोले बताए ।
उनले भने, “यो समस्या समाधान गर्न २० वर्षदेखि सम्बन्धित मन्त्रालय विभाग हरेक ठाउँमा पुगेर थालेको प्रयास सफल हुन सकेपछि आन्दोलनलाई लहान नगरपालिकाले उचित ठानेर समर्थन गरेका छौँ ।”
लहान नगरपालिका-६ का वडाध्यक्ष रमेश गौतम, न्यायिक समिति सदस्य महेन्द्र ठाकुर, लहान-५ का पूर्ववडाध्यक्ष मो सेलेमान अन्सारी, नेपाली काँग्रेस नगर सभापति सञ्जयकुमार यादवलगायतले मालपोत कार्यालयमा धर्नामा उपस्थित भएर भौतिक समर्थन गरेका छन् ।
गाउँ ब्लक संघर्ष समितिले थालिएको आन्दोलनमा मालपोत कार्यालय लहान शाखामा रहेको लेखापढी व्यवसायी संघको समर्थन रहेको संघका अध्यक्ष रामनारायण यादवले बताए ।
कार्यालयको मूल प्रवेशद्वारमा धर्ना बसेपछि कार्यालयको कामकाज प्रभावित भएको कार्यालय प्रमुख अर्जुन मण्डलले बताए ।
समस्या समाधानका लागि सम्बन्धित निकायबाट पहल गरिरहेको जानकारी दिँदै उनले भने, “यस विषयमा माथिको निर्देशन आएपछि मात्रै समस्या समाधान गर्न सकिने देखिन्छ । यो लहानको समस्या मात्रै नभएर देशव्यापी समस्याको रूपमा रहेको छ ।”
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८१ चैत २ गते