बाजा गुरुहरुबाट परम्परागत बादनको संरक्षण र पुस्तान्तरणमा योगदान 

२३६ जना परम्परागत बाजा गुरुलाई नगदसहित सम्मान 

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले २३६ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

३० औँ महानगर दिवस २०८१ का अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, समितिका सदस्यहरु, कार्यपालिकाअन्तर्गतका समितिका संयोजकहरुले सम्मान गर्नुभएको हो ।

सम्मानित हुने गृरुहरुमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट शिफारिस हुनुभएका परम्परागत ६३ टोलका ६३ जना मु-धिमे गुरु र ५४ जना दाफा खिं गुरु हुनुहुन्छ ।

गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस हुनुभएका २५ टोलका एकएक जना गुरु, नेपाल खड्गी सेवा समितिबाट शिफारिस हुनुभएका ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट ९ टोलबाट शिफारिस हुनुभएका १५ जना गुरु हुनुहुन्छ ।

यस्तै केन्द्रीय मानन्धर संघबाट सिफारिस हुनुभएका ३ टोलका ३ जना र विभिन्न संघसंस्थाहरुबाट शिफारिस हुनुभएका ७ जना बाजा गुरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले, परम्परागत बादनमा किशोरी र युवतीको संख्या बढ्दै गएको बताउनुभयो । ‘बादनसँगै सांस्कृतिक क्रियाकलापमा महिलाको उपस्थिति स्वीकार गरिएको छ । यसबाट जात्रापर्वहरु लैङ्गिकमैत्री बन्दै गएका छन् ।’

उहाँले भन्नुभयो, ‘परम्परागत बाद्य गुरुहरुको यसमा ठूलो भूमिका छ । महिलाहरुलाई प्रोत्साहन गर्न गुरुहरुले नानीहरु, किशोरीहरु र महिलाहरुलाई प्रोत्साहन गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, बाजा गुरुहरुको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताउनुभयो ।

‘बादन संस्कारले मूर्त सम्पदा क्षेत्रलाई जीवन्तता दिएका छन् । संस्कार, संस्कृतिसँगै समय, पेशा, जीवन पद्धतिका आयामसँग बादन संस्कारको महत्वपूर्ण भूमिका छ । यसलाई बचाउने दायित्वलाई जिम्मेवारीपूर्वक वहन गरिरहेका छौँ ।’

‘बादन संस्कार बचाउन नेवार समुदायका धेरै व्यक्तिले रोजगारीमा जान पाएका छैनन् । गएकाहरुले पनि पेशालाई नियमित गर्न सकेका छैनन् । यो अवस्थालाई बुझ्न सकिएन भने संस्कार बचाउन सकिँदैन भन्ने महसुस गरेर बाजा गुरुहरुको सम्मान कार्यक्रम थालिएको हो ।’

समितिका सदस्य एवं वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भन्नुभयो, ‘सम्मान कार्यक्रमबाट स्थानीय सरकारले संस्कार संरक्षण तथा प्रवर्धन गर्ने दायित्व पूरा गर्दैछ भन्ने सन्देश दिन खोजिएको हो ।’

कार्यक्रममा बाजा गुरुहरुलाई सिफारिश गर्ने संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा तरुण माध्यमिक विद्यालयका छात्रछात्राहरु राज लामिछाने, सजल लामिछाने र सदीक्षा पौडेलको समूहले प्रथम स्थान हासिल गरेको थियो ।

यस्तै अक्सिडेन्टल पब्लिक माध्यमिक विद्यालयका छात्रछात्राहरु प्राञ्जल घिमिरे, आराध्या भण्डारी र विष्णु शर्माको समूहले दोस्रो स्थान हासिल गरेको थियो ।

ज्ञानकुञ्ज माध्यमिक विद्यालयका छात्रछात्रा सर्जक पन्त, मिडस बास्तोला र सुम्निमा श्रेष्ठको टोलीले तेस्रो स्थान हासिल गरेको थियो । विजेताहरुलाई क्रमशः ६ हजार, ५ हजार र ४ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।

शिक्षकस्तरीय कविता बाचन प्रतियोगितामा भ्याली भ्यु स्कूलका शिक्षक योगराज पौडेल, जुद्धोदय माध्यमिक विद्यालयका शिक्षक सीतादेवी तिवारी र सेचेन बौद्ध माध्यमिक विद्यालयका शिक्षक झविन्द्रकुमार सुवेदीले प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

उहाँहरुलाई क्रमशः १० हजार, ८ हजार र ६ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । महानगर दिवसका अवसरमा कार्यक्रमहरु आयोजना गरिएका थिए ।

१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो ।

०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments