काभ्रेपलाञ्चोक/ प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनुभएको छ ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताउनुभयो ।
“अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढ्का छौँ, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमूनाका रूपमा अघि बढिरहेका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले विद्यार्थीलाई पढाईसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।”
प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताउनुभयो । “विद्यार्थीको आचारण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ” उहाँले दीक्षित विद्यार्थीतर्फ इङ्गित गर्दै भन्नुभयो, “विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ, सफताका लागि अझ परिस्कृति म्यानर मिसाउनुपर्छ ।”
कार्यक्रममा भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले नेपाल–भारतको इतिहास र भूगोलमा असाधारण सम्बन्ध रहेकाले व्यापार, शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दीगो विकासका मार्ग प्रशस्त गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुई देशबीचका उदाहरणीय परियोजनाले पनि राष्ट्रबीचको विश्वास र साझेदारीको गहिरो भावनालाई पनि उत्प्रेरित गर्न सक्छ भन्न सकिन्छ ।”
समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं केयूको सहकुलपति विद्या भट्टराईको उपस्थिति रहेको थियो ।
काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ आर्ट्सको मास्टर इन अर्वान स्टडिजमा ५ जना, मास्टर इन मिडिया स्टडिजमा १ जना र मास्टर अफ फाईन आर्टसमा २१ जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको छ ।
त्यसैगरी स्कुल अफ एजुकेसनको मास्टर इन इनडिजाईनस एजुकेसन एण्ड डेभलपमेन्टमा १९ जना र मास्टर इन ट्रेनिङ्ग एण्ड डेभलपमेन्टमा १२ जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको छ ।
स्कुल अफ इन्जिनियरिङको मास्टर इन हेल्थ इन्फरमेटिक्समा २ जना एम टेक इन इनर्जी सिस्टम ४ जनालाई पहिलो पटक उपाधि प्रदान गरिएको हो ।
स्कुल अफ मेडिकल साइन्सेजको ब्याचलर अफ साईन्स मेडिकल इमाईजिङ्ग टेक्नोलोजीमा ८ जना र ब्याचलर अफ साईन्स इन ल्यावोटरी मेडिसिनमा १० जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको हो ।
तीसौं दीक्षान्त (पहिलो चरण) सम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४६ हजार ६ सय ९३ जना दीक्षित भएका छन् । तीमध्ये ५७ देशका ५ हजार ५ सय ४२ जना विदेशी विद्यार्थी रहेका छन् ।
दीक्षान्त समारोहअघि काठमाडौं विश्वविद्यालय सभाको ९८ औं बैठक प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालय परिसरमा बसेको प्रवक्ता एक्कुमाया पुनले जानकारी दिईन् ।
भारतीय प्रौद्योगिक संस्थान (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी) पटनाका निर्देशक प्रा. डा. टी. एन. सिंहको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति विद्या भट्टराईको सहभागितामा उक्त हुने समारोह आयोजना गरिएको हो ।
समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका ३ जना, पीजिडी तहका ५१ जना, एमफिल तहका ३३ जना, स्नातकोत्तर तहका ३ सय ८५ जना, स्नातक तहका ७ सय ८४ जना सहित जम्मा १ हजार २ सय ५६ जना विद्यार्थी दीक्षित हुनेछन् ।
तीमध्ये आर्टसका १११ जना, एजुकेसनका २५३ जना, इन्जिनियरिङका ७७ जना, लका ३९ जना, म्यानेजमेन्टका ४६५ जना, मेडिकल साइन्सेजका १८१ जना र साइन्सका १३० जना रहनेछन् ।
दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको सङ्ख्या ६ सय १५ (४८.९६ प्रतिशत) र महिलाको सङ्ख्या (६ सय ४१) ५१.०४ प्रतिशत रहनेछ ।
दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ६ प्रतिशत रहेका छन् । तीमध्ये भारत, चीन, श्रीलङ्का, बाङ्लादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भूटान गरी ९ देशका ७५ जना विदेशी विद्यार्थी रहनेछन् ।
तीमध्ये स्कुल अफ आर्ट्सका १७ जना, स्कुल अफ एजुकेसनका ५ जना र स्कुल अफ मेडिकल साइन्सेजका ५३ जना रहेका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित