काठमाडौं/ नेपालका दुर्गम गाउँहरुलाई उज्यालो बनाउने उद्देश्यले चिनियाँ सहयोगमा ‘गाउँ उज्यालो बनाउँ’ परियोजना सुरु भएको छ ।
नेपालस्थित चिनियाँ राजदूतावास, चीनको छोङछिङ ह्वायान मन्दिर र छोङछिङ नगरपालिका, ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनको संयुक्त पहलमा यो परियोजना सुरु गरिएको हो ।
दुर्गम गाउँलाई स्थिर प्रकाश प्रदान गर्दै जीवनस्तर सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका पाँच सय घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्यबत्ती प्रदान गर्ने जनाएको छ ।
परियोजनाको पहिलो चरणमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका
वडा नं ११ का दुर्गम मिन्दुपा गाउँ र सिम गाउँका ८० घरमा सोलार बत्ती जडान गरिएको जानकारी दिइयो ।
विद्युतको केन्द्रीय प्रसारण नपुगेको सो गाउँमा जडान भएको सोलार बत्तीबाट स्थानीयको रात्रीकालीन जीवनलाई सहज बनाउनुका साथै विद्यार्थीलाई अध्ययनका लागि अनुकूल वातावरण सिर्जना भएको परियोजनाले जनाएको छ । यसरी सञ्चालित कार्यक्रमले स्थानीयको जीवनस्तर सुधार तथा शिक्षा र दिगो विकासलाई प्रवर्द्धनमासमेत मद्दत पुग्ने विश्वास लिइएको छ ।
पत्रकार सम्मेलनमा रोशी गाउँपालिकाका प्रमुख दिनेश लामाले परियोजनाले स्थानीय बासिन्दाको जीवनस्तर सुधारमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे।
उनले भने, ‘अहिले पनि टुकी बत्तीको सहाराले जीवन गुजारा गरिरहेका हाम्रा नागरिकलाई परियोजनाको माध्यमबाट नयाँ ऊर्जा प्रदान गर्ने नै छ । ‘गाउँ उज्यालो’ परियोजनाले सीमापार परोपकारको भावना प्रदर्शन गरेको छ’ लामाले थपे ।
यसैगरी, रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका
की उपाध्यक्ष चण्डिका तामाङले चीन सरकारले यसअघि २०७२ को विनासकारी भुकम्पमा खानेकुरा उपलब्ध गराएको उल्लेख गरिन् ।
‘पछि विकास निर्माणमा मद्दतका लागि चीन सरकारले एक्साभेटर सहयोग गरेको हो । हामीले गाउँपालिकाको बजेटबाट हरेक घरमा सोलार बत्ती जडान गर्न नसक्ने अवस्थामा ठुलो सहयोग मिलेको छ’ उनले आभार प्रकट गरिन् ।
‘गाउँ उज्यालो बनाउँ’ परियोजनाका प्रतिनिधि मानबहादुर तामाङले अझै पनि बिजुली बत्तीको सुविधा नभएका ग्रामीण भेगहरुमा सहयोग गरेकोमा चीन सरकार र छोङछिङ ह्वायान मन्दिरलाई धन्यवाद दिँदै यसले नेपाल र चीनवीचको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे ।
गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका बुद्ध महर्जनले राजधानीसँगै भएर पनि ७ बर्षदेखि बत्तीका अभावमा रहेका परिवारलाई सहयोग गरेकोमा आभार प्रकट गरे ।
छोङछिङ ह्वायान गुम्बाका प्रतिनिधि मास्टर ताओ चेनले गाउँ उज्यालो परियोजना केवल भौतिक वस्तु दानमात्र नभएर यसले आशा र दयाको भावना पनि प्रवाहित गर्ने बताए ।
‘सौर्य बत्तीको प्रकाशबाट गाउँलेहरूको जीवनलाई सहज, सुरक्षित बनाउने लक्ष्य राखिएको छ, साथै बालबालिकाहरूलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गर्नका लागि प्रेरित गर्ने योजना रहेको छ’, उनले भने ।
चीनको छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउण्डेसनका महासचिव यिन लियाङले सौर्य बत्तीको प्रयोगबाट हरित ऊर्जा प्रविधिको प्रवद्र्धन, पारिस्थितिक सभ्यता निर्माण र दिगो विकासलाई समर्थन गर्न मद्दत पुग्ने बताए ।
‘यो चीनको छोङछिङ ह्वायान मन्दिर र ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशन
को अन्तर्राष्ट्रिय परोपकारी सहकार्यप्रतिको लामो समयदेखि रहेको प्रतिबद्धताको महत्त्वपूर्ण प्रतीक पनि हो’ उनले भने ।
नेपालस्थित चिनियाँ राजदूतावास
का काउन्सिलर छि शानले परियोजनाले ग्रामीण जनजीवनलाई उज्यालो प्रदान गरेर दैनिकी सहज गर्नुका साथै दुई देशबीच जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘गत सेप्टेम्बरको अविरल वर्षाका कारण आएको बाढीपहिरोले समस्या बढाएको छ । जसले प्रकाशको आवश्यकतालाई झनै महत्त्वपूर्ण बनाएको छ । यसपटक प्रदान गरिएका सौर्य बत्तीले यी गाउँमा भरपर्दो र वातावरणमैत्री प्रकाश समाधान प्रदान गर्नेछन् । जसले रात्रीकालीन जीवनलाई सहज बनाउनुका साथै बालबालिकालाई अध्ययन गर्नका लागि अनुकूल वातावरण सिर्जना गर्नेछ, उनले आशा गरे ।
कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा(ज्वाला), नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य इश्वरी ओझा, रोशी वडा नं ११ का वडा अध्यक्ष लालकुमार पाख्रीनलगायतको उपस्थिति थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित