बागमती / बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्योगका लागि स्वदेशी कच्चा पदार्थ प्रयोगमा ल्याउन जोड दिनुभएको छ ।
आज १०औँ उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
हेटौँडामा आयोजित नवप्रवर्तक उद्यमी सम्मान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले हाम्रो वरपर भएका कच्चा पदार्थलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न सके कच्चा पदार्थको आयातका नाममा नेपाली पैसा नबाहिरिने बताउनुभयो ।
विदेशीभन्दा स्वदेशी कच्चापदार्थ प्रयोगमा ल्याउन आग्रह गर्दै मुख्यमन्त्री लामाले कृषि क्षेत्रमा स्वदेशमै बीउ उत्पादनमा जोड दिनसमेत आग्रह गर्नुभयो ।
नेपाली बजारमा टपरीको प्रशस्त माग रहेकाले गुणस्तरीय सामग्री उत्पादन गर्न सके यसले विश्व बजारमा पर्याप्त आम्दानी गराउन सक्ने उहाँको भनाइ थियो ।
तीन तहको सरकारले उद्योग सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्था गरिनुपर्ने उल्लेख गर्दै लगानीकर्तालाई सुरक्षित वातावरण र प्रविधिमैत्री बनाइनु सरकारको दायित्व रहेको बताउनुभयो ।
उद्योगी–व्यवसायीलाई हेर्ने नजर सकारात्मक बनाउनमा जोड दिँदै उहाँले स्वदेशमा रोजगारी बढाउनसके बेरोजगार समस्या हल हुने बताउनुभयो ।
रोजगार सिर्जना भएपछि युवाशक्ति पलायन हुनबाट रोकिने उल्लेख गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकारबाट उद्योग र कृषि क्षेत्रमा रु तीन अर्ब बजेट लगानी भएको र सरकारको अनुदान सही ठाउँमा प्रयोग गर्न उद्योग–व्यवसायीलाई आग्रह गर्नुभयो ।
“प्रदेश सरकारले नेपाली कागजलाई सरकारी कामकाजमा अनिवार्यरुपमा प्रयोगमा ल्याउने तयारी गरेको छ, उद्योग व्यवसायीका समस्यालाई समाधान गर्न ऐन नियम हेरफेरमा ध्यान दिनेछौँ”, मुख्यमन्त्री लामाले भन्नुभयो ।
कार्यक्रममा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङले युवालाई स्वदेश फर्काउन उद्योग क्षेत्रको विकासले मात्र सम्भव भएको बताउनुभयो ।
उहाँले साना उद्योगलाई विकास विस्तार गर्न, स्वदेशी कच्चापदार्थ प्रयोग गर्न आग्रह गर्दै उद्योग वाणिज्य क्षेत्रमा प्रदेश सरकार लगानी बढाउन सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा काभ्रेपलाञ्चोकको झ्यम्भल कृषि फर्म
उद्योगलाई सर्वोत्कृष्ट उद्योग घोषणा गर्दै नगद रु एक लाखसहित सम्मान गरिएको थियो । भोगटेको बोक्राको सेतो भागबाट क्यान्डी उत्पादन गर्दै आएको उक्त उद्योगले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
अन्य उत्कृष्ट उद्यमीलाई जनही रु ४० हजारसहित सम्मान गरिएको थियो ।
यीनमा उत्कृष्ट उद्यामी सम्मान पाउनेहरुमा मकवानपुर जिल्लाबाट हेटौंडा-१५ स्थित कोम्हेन्दो एकीकृत कृषि फार्म, निलकण्ठ नगरपालिका–८, धादिङस्थित युनिक पशुपन्छी तथा कृषि फार्म, रसुवा जिल्ला उत्तरगया गाउँपलिका–५ मा रहेको रसुवा एसएस टेलर्स एण्ड स्यानेटरी प्याड तथा माक्स उद्योग रहेका छन् ।
दूधौली नगरपालिका–४, सिन्धुलीस्थित वरपिपल दुना टपरी उद्योग, चन्द्रागिरि नगरपालिका–११, काठमाडौंको ओम फूड प्रोडक्ट, ललितपुर वाग्मती गाउँपालिका-१ को सिर्जनशील कृषि फार्मले पनि उत्कृष्ट उद्यमी पुरस्कार पाएका छन् ।
गौरीशंकर गाउँपालिका–५, दोलखाको सुरी मौरीपालन तथा घार उद्योग, नुवाकोट जिल्लास्थित नवयुवा कृषि फार्म, भक्तपुरको लक्ष्मी चिउरा उद्योग उत्कृष्ट उद्योगका रुपमा सम्मानित भए ।
सिन्धुपाल्चोकको कफी सहकारी उद्योग, रामेछापको मन्थली डिलक्स एग्रो फरेस्टी र काभ्रेपलाञ्चोकको बीजेएस ह्याण्डीकाफ्रट एण्ड सोभिनियर हाउस पनौती रहेका छन् ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठक, प्रदेश प्रमुख सचिव डा हरिप्रसाद लम्साललगायतको उपस्थिति रहेको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित