नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

काठमाडौँ/ लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ ।

पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न यहाँ आउनुभएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले बताउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ ।

गत १६ असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो ।

बिहीबार सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मुख्यालयमा गार्ड अफ अनर दिइनेछ। त्यसपछि नेपाली सेनाका उच्च अधिकारीहरुसँग अन्तरक्रिया गर्नेछन्। जंगी अड्डामा हुने छलफलपछि उनी राष्ट्रपति भवन शितल निवासमा आयोजना हुने समारोहमा सहभागी हुनेछन्।

भारतीय सेना र नेपाली सेनाबीचको परम्पराअनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी दर्जाले सम्मान गर्ने कार्यक्रम छ।

सेनाध्यक्ष द्विवेदीले त्यसलगतै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन्। भेटवार्तामा नेपाल र भारतबीचको रक्षा साझेदारीलाई थप मजबुद बनाउने विषयमा छलफल हुनेछ।

बिहीबार साँझ उनी नेपाली सेनाका प्रधानसेनापतिले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

द्विवेदीले शुक्रबार नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीका विद्यार्थीहरूलाई सम्बोधन गर्नेछन्। दिउँसो द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईलाई भेट्ने कार्यतालिका तय भएको छ।

शनिबार द्विवेदी पोखरामा भूतपूर्व सैनिकहरुको र्‍यालीमा सहभागी हुनेछन्। जहाँ उनले विभिन्न पुरस्कार प्राप्त गर्नेहरूलाई सम्मान गर्नेछन्।

त्यसक्रममा उनले नेपालमा ठूलो संख्यामा रहेका भारतीय सेनाका दिग्गजहरूसँग पनि अन्तरक्रिया गर्ने तय भएको छ। सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको पश्चिम पृतनालयको भ्रमण पनि गर्नेछन्।

नेपाली सेनाको पश्चिमी पृतनामा पृतनापतिको उपस्थितिमा त्यहाँको स्थितिका बारेमा ब्रिफिङ लिनेछन्।

सोही दिन साँझ, प्रधानसेनापतिले काठमाडौँमा विशिष्ट व्यक्तिहरूको लागि रात्रिभोजको आयोजना गर्नेछन्।

सेनाध्यक्ष उपेन्द्र द्विवेदीको भ्रमणले नेपाल र भारतका सेनाबीचको सैन्य सहयोगलाई थप सुदृढ पार्ने र दुई राष्ट्रबीचको सहकार्यमा नयाँ विकल्प खोज्ने सेनाको विश्वास छ।

द्विवेदीको भ्रमण नेपाल र भारतबीचको घनिष्ठ सैन्य सहयोगलाई थप सुदृढ पार्न  महत्वपूर्ण कदम हुने भारतीय रक्षा मन्त्रालयले पनि विज्ञप्तिमार्फत विश्वास व्प्यक्त गरेको छ।

उनी आइतबार भारत फर्कनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments