काठमाण्डौँ/ गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ ।
सानोभर्याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ ।
उच्च अदालत पाटनबाट दोषी ठहर भएका मनाङे गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएसँगै अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको थियो ।
मनाङेविरुद्ध चक्रे मिलन भनिने गुन्डा नाइके मिलन गुरुङमाथि काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दा दायर भएको थियो। मनाङेको समूहले ज्यान लिने उद्देश्यले आक्रमण गरेर आफ्नो पतिको बायाँ हात छिनालिदिएको भन्दै चक्रे मिलनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन्।
गण्डकी प्रदेशमा पटक पटक मन्त्री भएका गुरुङले त्यस विरुद्ध उनले ०७५ चैत ३ गते सर्वोच्चमा पुनरावेदन दर्ता गरेका थिए ।
पाँच वर्षको कैद सजायमध्ये मनाङेले दुई वर्ष आठ महिना कैद यसअघि नै भुक्तान गरिसकेका छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित