नुवाकोटमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्थापना

नुवाकोट : नुवाकोटमा खानेपानी तथा सरसफाइ डिभिजन नं. ६ को कार्यालय स्थापना भएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको उक्त कार्यालय आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्घाटन गर्नुभयो ।

राज्य पुनःसंरचना पश्चात गाभिएका कार्यालयको कार्यक्षेत्र धेरै हुँदा योजना तथा कार्यक्रम गुणस्तरीय हुन नसकेको महसुस गरी कार्यालय विस्तार गरिएको मुख्यमन्त्री लामाले बताउनुभयो ।

बागमती प्रदेश सरकारको गत असोज १९ गतेको निर्णयअनुसार विगतमा डिभिजन नं. २ धादिङको कार्यक्षेत्रअन्तर्गत नुवाकोट र रसुवा रहेका थिए । हाल रसुवाको लागि विदुरमा कार्यालय स्थापना गरिएको छ ।

नयाँ कार्यालय स्थापनासँगै नुवाकोट र रसुवाका लागि चालु आवदेखि कार्यान्वयन गर्न लागिएका योजना तथा कार्यक्रम, बजेट र कर्मचारी सुनिश्चित गरिएको छ ।

प्रदेशको ऊर्जा तथा सिँचाइ सचिव मोहनकुमार शाक्यकाअनुसार नुवाकोटमा सङ्घीय सरकारबाट प्राप्त ३२ वटा योजनाको लागि रु एक करोड ७५ लाख र प्रदेश सरकारबाट दुई सय २३ वटा योजनाका लागि रु २४ करोड ५६ लाख ६० हजार बजेटसहित डिभिजन कार्यालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

रसुवाका लागि सङ्घीय सरकारबाट प्राप्त नौ वटा योजनाका लागि रु ५३ लाख र प्रदेश सरकारबाट ८९ वटा योजनाका लागि रु आठ करोड ४० लाख बजेट डिभिजन नं. ६ विदुरलाई जिम्मेवारीसहित हस्तान्तरण गरिएको छ ।

योजना तथा बजेटसहित दिलीपकुमार शाह प्रमुख रहने गरी डिभिजनका लागि आवश्यक कर्मचारीको प्रबन्ध मिलाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments